कर्णालीको उत्पादनले कर्णाली मागलाई धान्दैन् । यहाँ उत्पादन भएको खाद्यान्नले वर्षभरी पुग्दैन् । यस हिसावले कर्णाली प्रदेश अहिले पनि खाद्य सुरक्षाको जोखिममा छ । कुनै बेला यहाँको उत्पादनले पुग्ने कर्णाली पछिल्लो समय परनिर्भर बन्दै गएको विभिन्न तथ्यहरु देखाउँछ । यस पछाडिका धेरै कारणहरु होलान् । जलवायू परिवर्तन, खेतीपातीमा कम आकर्षण, मेहनत अनुसारको उब्जाउ नहुनु जस्ता कारणहरु अग्रपंतीमा आउँछन् ।
पछिल्लो समय कर्णालीमा अन्नबालीको खेती नै घटेको छ । किसानहरुले अन्नबालीको खेती नै गर्न छाडेका छन् । यसैको परिणाम हो, कर्णालीमा अन्नबालीको खेती हुने क्षेत्रफल नै घटेको । तथ्याकं अनुसार कर्णालीमा अन्नबालीको खेती हुँदै आएको क्षेत्रफल खुम्चिदै गएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले गरेको अध्ययनले कर्णालीमा अन्नबालीको खेती घटेको देखाएको हो ।
तथ्याकं अनुसार कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल शुन्य दशमलव ११ प्रतिशतले घटेको छ । बितेको आर्थिक बर्षको पुस मसान्तसम्मको तथ्याकं अनुसार कृषि बालीले ढाकेको क्षेत्रफल घटेर ३ लाख ७३ हजार ४१६ हेक्टर कायम भएको छ । यस्तै आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.४१ प्रतिशतले कमी आएको छ । सोही अवधिमा गरिएको अध्ययनले कर्णालीमा धानको खेती हुने क्षेत्रफल ५.११ प्रतिशत, मकैको खेती हुने क्षेत्रफल ४.१६ प्रतिशत र गहुँ, कोदो, जांै र फापर बालीले ढाकेको क्षेत्रफल पनि खुम्चिएको छ ।
अन्नबालीको खेती घट्दा कर्णालीमा तरकारी र फलफुलको खेती भने विस्तार भएको छ । तथ्याकं अनुसार कर्णालीमा तरकारी खेती हुने क्षेत्रफल ४६.३२ प्रतिशतले वृद्धि भएको छ । कर्णालीमा तरकारी र बागवानी क्षेत्रमा सल्यानले सबैभन्दा धेरै २९.१३ प्रतिशत हिस्सा ओगटेको छ । यसले प्रदेशको अर्थतन्त्रलाई आंशिक रूपमा राहत त देला तर, पनि खाद्यान्न आत्मनिर्भरताका हिसाबले दीर्घकालिन असर पु¥याउने देखिन्छ ।
किसानहरूले अन्नबाली छोडेर नगद आम्दानी दिने तरकारी तथा फलफूलमा आकर्षण देखाएका छन्, जुन एक हिसाबले प्रोत्साहनयोग्य हो । तर दीर्घकालीन खाद्य सुरक्षा र आत्मनिर्भरता सुनिश्चित गर्न असहज स्थिती सृजना हुन सक्ने देखिन्छ । यसैपनि कर्णाली प्रदेश अहिले पनि खाद्य सुरक्षाको दृष्टिले असहज अवस्थामा गुज्रिएको छ । प्रदेशभित्र उत्पादन भएको अन्नले कर्णालीको माग धान्न सकिरहेको छैन् । जसका कारण कर्णालीले अझै बाह्य आयातमा निर्भर हुनुपरेको अवस्था छ । विशेष गरी हिमाली जिल्लाहरूमा खाद्यान्न संकट गहिरो बन्दै गएको छ । तर, अन्नबाली उत्पादन वृद्धि गर्ने सट्टा अहिले त्यसको क्षेत्रफलमा समेत गिरावट देखिन थालेको छ, जुन चिन्ताको विषय हो ।
खाद्यान्न उत्पादनका हिसावले केहि समस्याहरु देखा परेको भएपनि त्यसका समाधानका उपायहरु पनि पक्कै पनि छन् । अबको आवश्यकता भनेकै समस्या समाधानका उपाय अपनाउने र त्यसलाई व्यवहारिक रुपमै लागू गर्नु हो । यसअर्थमा अब सरकारले कर्णालीमा अन्नबालीको संरक्षणतर्फ ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो केहि वर्षको प्रवृतिलाई हेर्दा कर्णालीमा सरकारले किसानले तरकारी तथा फलफूल उत्पादन जस्ता कृषि कर्ममा मात्रै अनुदानदेखि प्राविधिक सहयोग बढी गर्ने गरेको छ ।
अब खाद्यान्न उत्पादक किसानलाई प्राविधिक सहयोग र अनुदान जस्ता कार्यक्रममा जोड्नु अपरिहार्य छ । यसका साथसाथै बीउबिजनको व्यवस्था, र उचित बजार सुनिश्चितता पनि उत्तिकै जरुरी देखिन्छ । यदि यसो गर्न सकिएने भने आत्मनिर्भर कर्णाली केवल सपना मात्र बन्नेछ । त्यसैले संघीय र प्रदेश दुवै तहका सरकारले स्पष्ट नीतिसहित स्थानीय सरकारको सहकार्यमा किसानमा अन्नबालीप्रति पुनः विश्वास जगाउन ठोस पहल आवश्यक देखिन्छ ।





